06/09/2015
दुर्भाग्य भनौं या के भनौं सुन्दै डर लाग्ने रोगसँग लड्दै छु। क्यान्सर भन्ने बित्तिकै हाम्रो दिमागमा प्रायः ज्यानै लैजाने रोग भनेर डेरा जमाएको रोग हो, हो विगत ८ महिनादेखि यही रोग सँग जुहारी खेल्दै म र मेरो परिवारले दिन काटिरहेका छौं। शुरुमा थाहा पाउँदा सम्हाल्न अति नै गार्हो भए पनि अहिले हाम्रो दिनचर्या नै यही बनेको छ र यसलाई सामान्य रुपमा नै लिन थालेका छौं। मलाई लिम्फोमा नामको रक्तक्यान्सर लागेको छ र सिड्नीको रोयल प्रिन्स अल्फ्रेड हस्पिटलमा उपचाररत छौं।
हुन त नेपालमा त्यति क्यान्सर रोग लागेको खबरहरु बाहिर आए जस्तो लाग्दैन, रोग पत्ता नलाग्दै ज्यान जाने भएर पो हो कि! अष्ट्रेलियामा विगत केही वर्षदेखि भर्खरका नेपाली युवालाई क्यान्सर लागेको धेरै नै खबरहरु थाहा हुन आएको छ, सायद यहाँको हावापानीले पो हो कि या जीवनशैलीले गर्दा हो। मैले पनि कोमाबाट निस्केको जुन दिनमा मलाई क्यान्सर भएको थाहा पाएँ, त्यो अर्धचेतन दिमागमा अष्ट्रेलिया आउनु नै क्यान्सर लाग्नुको मुख्य कारक तत्व मानेको थिएँ। तर डाक्टरहरुसँगको परामर्श र अहिले सम्म गरेको अध्ययनले क्यान्सर रोग लाग्नुको कुनै कारण नै पत्ता लाग्न नसकेको थाहा भएको छ। धुमपान गर्दैमा फोक्सोको क्यान्सर हुन्छ र नगर्दैमा हुँदैन भन्ने ग्यारेन्टी नभए जस्तै यो क्यान्सर लाग्नुको पछाडि संभाव्यता र भाग्यको खेल हुने रहेछ भन्ने अहिले सम्म बुझेको छु।
२९ वर्षको उमेर, भर्खर जन्मेको ३ महिनाको छोरा, नेपालबाट नातिको मुहार हेर्न बुवाआमा अनि सासुससुरा आउनेजाने क्रम चलिरहेको, दिनहरु खुशियाली साथ नै बितिरहेका थिए। सामान्य सुख्खा खोकी लाग्ने र अलि बढी थकित हुनु बाहेक अरु खासै केही भएको थिएन, आफूलाई पायक पर्ने २ वटा डाक्टरलाई देखाउँदा खासै केही नभएको प्रतिक्रिया दिए। तेश्रो डाक्टरलाई देखाउने बेला सम्ममा स्थिति अलि बिग्रिसकेको रहेछ, ठूलो हस्पिटलमा रेफर गरिदिएपछि जचाउँदा, फोक्सोमा पानी जमेर स्वासप्रश्वासमा नै अप्ठ्यारो भएपछि भेन्टिलेटरको सहायता सहित कोमामा नै राखेर नै उपचार गर्नुपरेछ। हप्ता दिन कोमामा अनि अर्को हप्ता दिन आईसीयूमा बस्दा स्वास्थ्य निकै कमजोर भएको थियो।
भाग्यमानी नै मान्नुपर्छ, रोग पत्ता लागेको दिनदेखि नै उपचार शुरु भएको रहेछ। क्यान्सरको मुख्य उपचार किमोथेरापी नै हुने रहेछ, मेरो होस खुल्ने बेलासम्ममा पहिलो चरणको किमो लगभग सकिइसकेको थियो। स्वास्थ्यको मामलामा अति नै संवेदनशील मान्छेलाई नै यस्तो रोग लाग्यो भन्दा आफू, परिवार लगायत साथीभाईहरुले समेत विश्वास गर्न धेरै नै गार्हो भयो तर वास्तविकतालाई स्विकार्नु बाहेक अन्य विकल्प थिएन। जिन्दगीमा कहिल्यै अस्पताल भर्ना हुनु नपरेकोले हरेक कुराहरुको नयाँ अनुभूति हुँदै थियो।
अलि ठूलै रोग लागेपछि मुख्य कुरा अनिश्चितता हुँदो रहेछ, उपचार केकस्तो हुने, कहिलेसम्म गर्नुपर्ने, भविष्यमा के हुन्छ आदि कुराहरु बुझ्न चाहेर पनि पूर्ण रुपमा सम्भव नहुने रहेछ। रोग, उपचार अनि यसका भित्री कुराहरु बुझ्न नै हामीलाई धेरै समय लाग्यो। लामो समयको उपचार जरुरत हुने भएकोले बुझेर मात्र पनि खासै उपलब्धी केही नहुने रहेछ, मुख्य कुरा उपचार योजना अनुसार जान्छ कि जाँदैन भन्ने हुने रहेछ, उपचार योजना अनुरुप जानको लागि अदृश्य रुपमा शरीरको अवस्था, उपचारले निम्त्याएका प्रतिक्रियाहरु आदि कुराहरुले मुख्य भूमिका निभाउने रहेछन्। यी बाहेक पारिवारीक, आर्थिक कुराहरु त छँदैछन् तर बेलैमा अष्ट्रेलियाको स्थायी बसोबासको बन्दोबस्त मिलाएको हुनाले हाम्रो चाहिँ मुख्य उपचार कै लागि अर्थको जोहो गर्नुपर्ने अवस्था रहेन, जुन कुराले पनि भाग्यमानी नै मान्नुपर्छ।
जनवरी २०१५ को अन्त्यमा रोग पत्ता लागिसकेपछि डाक्टरहरुसँग सल्लाह गर्दा उपचार समय त्यस्तै ६ महिनाको हाराहारी लाग्ने कुरा थियो, अहिले वास्तविकतामा ८ महिना पुग्न लाग्यो तर उपचार अझै कति लम्बिन्छ न हामीलाई थाहा छ, न डाक्टरले नै यति समय लाग्छ भन्न सक्ने स्थिति छ। किमोथेरापी भनेको सामान्य भाषामा शरीरमा विष हालेर क्यान्सरको सेलहरु मार्ने काम रहेछ, शरीरमा कडा खालको विष हालेपछि यसले निम्त्याउने प्रतिक्रियाहरु पनि कडा नै हुने रहेछन्। हरेक किमोथेरापी पछि शरीर सामान्य अवस्थामा नफर्किने बेलासम्म पर्खिनु पर्ने रहेछ, यो समयमा शरीरमा रगतका कोषहरुको सन्तुलन मिल्न नसक्दा कहिले निमोनिया त कहिले के के भएर उपचार प्रक्रिया लम्बिएको लम्बियै छ।
५ वटा किमोथेरापी लिइसकेपछिको जून महिनाको मध्यतिरको स्क्यानमा डाक्टरले मेरो शरीरबाट क्यान्सरका सम्पूर्ण सेलहरु नाश भइसकेको घोषणा गरेका थिए, यसैलाई आधार मानेर उपचारले राम्रो काम गरेको र अन्तिम उपचार स्वरुप सेप्टेम्बर महिनाको पहिलो हप्ता बोन म्यारो प्रत्यारोपण गर्ने भनेर डाक्टरले योजना बनाएका थिए। बोन म्यारो प्रत्यारोपणको प्रक्रियामा जानुभन्दा अगाडि शरीर अलि तन्दुरुस्त हुनुपर्ने रहेछ र यसैको लागि घरमै राम्रो सँग खाने र आराम गर्ने योजना अनुरुप घरमा आराम गरिरहेको थिएँ। तर योजना अनुसार सबै कहाँ हुने रहेछ र अगस्ट महिनाको मध्यतिर शरीरमा त्यति सन्चो नभएको महशुस भयो र जाँच गराउँदा उपचार नयाँ मोडमा जाने कुरा थाहा भयो, करीब डेढ महिना आरामको लागि दिइएको समयमा नै क्यान्सरका सेलहरु फेरी शरीरमा बल्झिसकेछन्। अन्तिम उपचारको लागि मनस्थिति बनाइरहेको अवस्थामा यो खबर पक्कै पनि शुभ खबर थिएन म र परिवारको लागि तर के गर्ने जे परे पनि सहनु र व्यहोर्नु बाहेक अर्को विकल्प नै के थियो र? रोग बल्झिए सँगै मेरो क्यान्सरको उपचार पनि मोटामोटी रुपमा ८ महिना पहिलेको स्थितिमा फर्किएको छ, अब फेरी नयाँ किमोथेरापीले शरीरबाट क्यान्सरका सेलहरु नष्ट नगरेसम्म बोन म्यारो प्रत्यारोपणको प्रक्रियामा जान मिल्दैन भन्ने डाक्टरको कुरा छ र यसै अनुसार उपचार प्रक्रिया अगाडि बढ्दै छ।
हुन त बोन म्यारो प्रत्यारोपणको प्रक्रिया पनि कहाँ सोचे जस्तो सरल छ र, नेपालमा त यसलाई अझै पनि शरीरको अंगदानको श्रेणीमा राखिएको रहेछ। खासमा यो शरीरमा रगत उत्पादन गर्ने सेलहरुको कारखाना (बोन म्यारो)का सेलहरु प्रतिस्थापन गर्ने प्रक्रिया मात्र हो, एउटा मान्छेलाई उपयुक्त हुने सेल अर्को मान्छेमा पाउनु नै ठूलो चुनौतिको विषय हुने रहेछ, यो प्रायः आफ्ना सहोदर दाजुभाई/दिदीबहिनी अथवा आफ्नै जातवर्ण मिल्ने मानिसहरुसँग मात्र मिल्ने सम्भावना धेरै हुने रहेछ। हामी नेपालीहरुको लागि जनचेतनाको कमी तथा कुनै व्यबस्थित रेकर्ड राख्ने निकाय नभएकोले यो मामलामा धेरै नै पछि छौं, मेरो केसमा भने अस्पतालले नै मसँग मिल्दो बोन म्यारो भेट्टाइसकेको जानकारी गराएको छ। यो प्रक्रियामा गइसकेपछिको यात्रा पनि त्यति सजिलो त छैन तर पनि दीर्घकालीन रुपको उपचारलाई हेर्दा अल्पकालिन समस्याहरुलाई हेरेर साध्य नै छैन। बोन म्यारो प्रत्यारोपण गरिसकेपछि करीब ६ महिना देखि १ वर्षको समयमा सामान्य जीवनयापनको अवस्थामा फर्किन सकिने डाक्टरहरुको कुरा छ।
जस्तोसुकै रोग लागे पनि मुख्य भूमिका भनेको आफ्नो र परिवारको नै हुने रहेछ, यो जति नै गहिरिएर बुझ्न खोजे पनि आफूलाई नपरेसम्म बाहिरको मानिसले महशुस गर्न त्यति सजिलो छ जस्तो लाग्दैन। यस्तो बेलामा मनोबल उच्च राख्नुपर्ने रहेछ, आफूले नजिक ठानेका मानिसहरु टाढिदैं जानु र नजिक नठानेका मानिसहरुको साथ पाउनु सामान्य नै हुने रहेछ। अहिले मेरो स्वास्थ्य स्थिति पहिले भन्दा निकै सुध्रिएको छ, आफैं यति शब्दहरु कोर्न सक्ने अवस्थामा पुगेको छु। मेरो अनुभवमा, आफूलाई कुनै रोग छैन, म तन्दुरुस्त छु भनेर घमण्ड गर्नुको खासै औचित्य छ जस्तो लाग्दैन, रोग भनेको कुनै दिन जो कसैलाई पनि लाग्न सक्दछ। विदेशमा रहँदा विशेष गरेर विद्यार्थी अवस्थामा बाध्यतावश स्वास्थ्यको धेरै नै लापरवाही गरिएको हुन्छ, जुन कुराको आफ्नो अनुकूल मिल्ने बित्तिकै तालमेल मिलाएर लैजानु पर्दछ जस्तो लाग्दछ, स्वास्थ्य धनभन्दा धेरै महत्वपूर्ण हुने रहेछ।
रोग लागिसकेपछि कति उतारचढावहरु आए, त्यसको कुनै लेखाजोखा नै छैन र अझै यो उपचारको यात्रामा कति उतारचढावहरु आउन बाँकी नै छन्। उपचारकै क्रममा आफ्नो प्राकृतिक आवाज गुमाएँ, जुन फिर्ता आउँछ-आउँदैन कसैले भन्न सक्ने स्थिति छैन। भर्खरै मौलाउन थालेको हाम्रो पारिवारीक भविष्य अनिश्चितप्रायः नै भएको छ, छोराले भर्खर १० महिनामा टेक्दै छ, श्रीमतीले मेरो र छोराको स्याहार गर्दैमा अरु केही गर्ने समय निकाल्न सकेकी छैनन्। यो अप्ठ्यारो परिस्थितिमा सहयोगको लागि नेपाली समुदायसँग सहयोगको अपिल गरेका थिएउँ र स्वतःस्फूर्त रुपमा साथीभाई तथा अपरिचितहरुले देखाउनुभएको सद्भाव अनि सहयोगले केही समय भए पनि हाम्रो आर्थिक समस्याको पाटोलाई सुल्झाइदिनुभयो र हामी उपचारमा निरन्तर लाग्न सकेउँ। परिचितहरुले गर्नुभएको सहयोगको साथै अपरिचितहरुले नेपाली र मानवीय नाताले गर्नुभएको सहयोग प्रति म र मेरो परिवार सँधै कृतज्ञ छौं।
regmi.suman@gmail.com