02/09/2024
विश्वकै उत्कृष्ट, ६ स्वास्थकर र स्वादिष्ट खाजा ।
डा. हेमराज कोइराला
१. मकै भट्टमास ।
२. कोदोको रोटी र चुकाउनी ।
३. अङ्कुरित गेडागुडी (अमृत भोजन)।
४. पोलेको÷उसिनेको हरियो मकै ।
५. भुटेको चना र मुङ्गफली ।
६. चना वा मकैको सातु ।
१. भुटेको मकै र भट्टमासः मकै र भट्टमास नितान्त नेपाली मौलिक परिकार हो । नेपालको पहाडी र हिमाली भेग भेगका मानिसहरूले यसलाई नास्ताका रूपमा खाने गर्दछन्। यो परिकार बनाउदा मकै र भट्टमासलाई छुट्टाछुट्टै भुटेर, त्यसपछि एकसाथ मिलाईन्छ । मकै र भट्टमासलाई भुटेर बनाईएको यो मिश्रण पौष्टिक मात्र होइन, स्वादिष्ट पनि हुन्छ । यसलाई खान बोक्न सजिलो भएकाले यात्रा वा दैनिक नास्ताका लागि उपयुक्त मानिन्छ ।
२. कोदोको रोटी र चुकाउनीः कोदोको रोटी र चुकाउनीलाई पनि स्वाद र स्वास्थ्यकारिताको दृष्टिले अत्यन्त महत्वपूर्ण खाजा मानिएको छ। कोदो (फिङ्गर मिलेट) को पिठोलाई पानीसँग मिसाएर आटा बनाइ त्यसलाई घीउ वा तेलमा सेकेर बनाईएको रोटीलाई दही, उसिनेको आलु, काक्रो, भुटेको तोरी, अदुवा, हरियो खुर्सानी, लसुन, प्याज, बेसार, मरिच, नुन र अन्य मसलाहरूको संयोजन बजाईएको चुकाउनी संग खाने चलन पनि मौलिक नेपाली खाद्य प्रचलन हो । कोदोको रोटीमा ग्लुटेन नामक स्वास्थ्य नासक प्रोटिन नहुने, उच्चमात्रामा फाइबर हुने, क्यालोरी कमहुने हुँदा यसले पाचन क्रिया सुधार गर्न र तौल नियन्त्रण गर्न मद्दत गर्छ। यसमा आइरन, क्याल्सियम, र म्याग्नेसियम जस्ता खनिजहरू पनि पाइन्छन्, जसले हड्डीहरूलाई बलियो बनाउँछ। चुकाउनीमा दही र आलु, काक्रो लगाएतका अन्य मरमसला समेत हुँने भएकाले यो मिश्रणमा प्रोटीन, क्याल्सियम, भिटामिन र प्रोबायोटिक्स जस्ता अनेकौ पोषक तत्व पाईन्छन्। यसले पाचन स्वास्थ्य सुधार्न र रोगप्रतिरोधक क्षमता बढाउँन मद्दत गर्दछ। कोदोको रोटी र चुकाउनी सँगै खाँदा रोटीले पेट भरिन्छ भने चुकाउनीले स्वादलाई ताजगी दिन्छ ।
३.अमृत भोजनः अङ्कुरित गेडागुडीहरू मुङ, चना, मेथी, ताजा सलाद, फलफूलहरू, काचो नरिवलको धुलो, भिजाएको काजु, बदाम, मुङफली, किसमिस, र दही मिसिएको विशेष प्रकारको प्राकृतिक खाना नै अमृत भोजन हो। अमृत भोजनले शरीरलाई सम्पूर्ण पोषण प्रदान गरी जीवनशैली स्वस्थ बनाउन सहयोग गर्छ। यस भोजनमा प्राकृतिक खाद्य पदार्थ मात्र हुने भएकाले यो अत्यन्त स्वस्थकर छ । शरीरमा जम्मा भएर बसेको विषाक्त पदार्थ हटाउन, पाचन प्रणालीलाई बलियो बनाउन र शरीरको उर्जा स्तरलाई बढाउँन यो भोजन अति उपयोगी छ । ध्यान, योग, र प्राकृतिक जीवनशैली अपनाउने मानिसहरू बीच लोकप्रिय यो भोजन स्वास्थ्य जीवनको कडी हो ।
४.पोलेको वा उखिसेको हरियो मकैः नेपाली ग्रामीण भेगमा खाजाको रूपमा प्रचलित यी परिकार पनि स्वास्थ्यको दृष्टिले अत्यन्त स्वास्थकर खाना हो । काचो मकैको घोगालाई सिधै आगाको भुङ्ग्रोमा पोलेर वा उम्लिएको पानीमा उसिनेर बनाइने यी खाजा नितान्त प्राकृतिक खाजा हँुन् । मकैलाई पाल्दा वा उसिन्दा यसको स्वाद मिठो, र वासना सुगन्धित हुन्छ । पोलेको मकै खाँदा विभिन्न प्रकारका मसला, नुन, घिउ या अमिलो अचार वा चटनी संग पनि खाने गरिन्छ । पोलेको र उखिसेको मकै दुवै प्रकृतिका खानाहरू हुन जसमा भरपुर स्वाद र उच्च पौष्टिकता पाइन्छ । नेपाली गाउँघरमा पारिवारिक जमघट, यात्रा, या सिजनल खाजाको रूपमा प्रिय मानिन्छ ।
५. भुटेको चना र मुङ्गफलीः उच्च प्रोटीन, फाइबर, खनिज पदार्थ, स्वस्थकर चिल्लो र अप्रशोधित कार्बोहाईड्रेटले भरपुर भुटेको चना र मुङ्गफली खाने चलन नेपालको तराई भागमा ज्यादा छ । यसमा विद्यमान प्रोटीन र फाइबरले पाचन क्रिया सुधार्न र तौल नियन्त्रण गर्न मद्दत गर्छ । यसमा भिटामिन बी६, आइरन, र म्याग्नेसियम पनि पाइन्छ । मुङ्गफलीमा पनि प्रसस्त स्वस्थकर चिल्लो, प्रोटीन, र भिटामिन ई हने भएकाले हृदयलाई सुदृढ बनाउँन सहयोग गर्दछ। यी खानामा विद्यमान म्याग्नेसियम, फस्फोरस, र कपर जस्ता खनिज पदार्थले शरीरको समग्र स्वास्थ्यलाई सुदृढ गर्दछ ।
६. चनाको वा मकैको सातुः चनाको सातुमा चनाको र मकैको सातुमा मकैको सम्पूर्ण पोषक तत्वहरू विद्यमान हुन्छन । उच्च प्रोटीन, उच्च फाइबर, र कम ग्लाइसेमिक इन्डेक्स भएकाले यो खाजाले तौल नियन्त्रण गर्न, रक्त ग्लूकोज सन्तुलन राख्न, र पाचन प्रणली सुधार गर्न मद्दत गर्दछ । यसले शरीरलाई प्रशस्त ऊर्जा दिने हुँदा लामो समयसम्म पेट भरिएको महसुस पनि हुन्छ । शरीरलाई डिटक्सिफाइ गर्न, रक्तचापलाई नियन्त्रणमा राख्न, र हृदय स्वास्थ्यलाई सुदृढ बनाउनका लागि पनि उपयोगी छ ।