12/03/2026
ढोरपाटन नगरपालिका,बागलुङमा दादुराको प्रकोपको अवस्था र प्रतिकार्य ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा विगत दुई हप्तादेखि दादुरा (Measles) रोगको प्रकोप देखिएको छ । २०८२ फागुन २८ गतेसम्म उक्त क्षेत्रमा ८३ जना शंकास्पद बिरामीहरू पहिचान भएका छन् । यसका अतिरिक्त बागलुङ जिल्लाकै बडिगाड गाउँपालिकाका विभिन्न वडाबाट समेत ४ जना शंकास्पद बिरामीहरू देखिएका छन् । संक्रमित मध्ये हाल ४ जनाको बुर्तिवाङ अस्पताल, ५ जनाको बोबाङ स्वास्थ्य चौकी र २ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने बुर्तिवाङ अस्पतालमा उपचारको लागि भर्ना गरिएका २९ जना डिस्चार्ज भएका छन् ।
यस अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले नेपाल सरकार, स्थानीय तह, विश्व स्वास्थ्य संगठन, स्थानीय स्वास्थ्य संस्था तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा रोगको थप अध्ययन, निगरानी तथा रोकथाम एवं नियन्त्रणका कार्यहरूलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ । सो कार्यका लागि विज्ञसहितको प्राविधिक टोली परिचालन गरिएको छ ।
प्रकोप व्यवस्थापनलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले ढोरपाटन नगरपालिका अन्तर्गत बुर्तिवाङ अस्पतालमा तथा स्थानीय सरकारले बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड स्थापना गरेको छ । साथै, बुर्तिवाङ अस्पतालमा बिरामीहरूको उपचारमा सहयोग गर्न धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ, प्रदेश अस्पताल, पर्वत र म्याग्दीबाट थप स्वास्थ्य जनशक्ति परिचालन गर्नुका साथै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशबाट आवश्यक औषधी तथा अन्य चिकित्सा सामग्रीहरूको समेत व्यवस्था गरिएको छ । हालको महामारी अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्व र प्रदेश तथा स्थानीय सरकारको समन्वयमा २०८२ फागुन २९ गतेदेखि चैत २ गतेसम्म ढोरपाटन नगरपालिकाका १० देखि १९ वर्ष उमेर समूहका बालबालिकाहरूलाई Outbreak Response Immunization (ORI) अन्तर्गत दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
त्यसैगरी, सम्बन्धित क्षेत्रका व्यक्तिहरूमा उच्च ज्वरो आउने, शरीरमा राता मसिना बिमिरा देखिने, खोकी लाग्ने, आँखा रातो हुने, नाकबाट पानी बग्ने आदि जस्ता दादुरासँग मिल्दोजुल्दो लक्षणहरू देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गरी स्वास्थ्यकर्मीले दिएका सुझावहरू पालना गर्न स्वास्थ्य मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले वर्तमान अवस्थाको निरन्तर निगरानी गरिरहेको छ । आवश्यकताअनुसार थप कदमहरू अवलम्बन गरिने जानकारी गराउँदै दादुरा प्रकोपको समयमै रोकथाम तथा नियन्त्रणका लागि सबै सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेको छ । साथै, हालसम्म सहयोग पुर्याउने सम्पूर्ण निकाय तथा व्यक्तिहरूप्रति मन्त्रालय हार्दिक धन्यवाद व्यक्त गर्दछ । मिति: २०८२ फागुन २८