25/11/2025
मिति २०८२ साल मंसिर ८ गते गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका वडा नम्बर ६, चुम्लिङ स्थायी ठेगाना भएकी वर्ष ३५ की छिरिङ छेटेन लामालाई मंसिर ५ गतेदेखि सुत्केरी व्यथा लागेको तर सुत्केरी हुन नसकी जटिल स्वास्थ्य अवस्था सिर्जना हुँदा निजको ज्यान जोखिममा परेकोले गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, काठमाडौँबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत उक्त स्थानबाट तत्काल हेली उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौंमा थप उपचारका लागि पठाइएको छ।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौंमा निज बिरामीको शल्यक्रियाद्वारा प्रसुति भएको र ४ केजीको छोराको जन्म भएको छ। हाल आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।
यस कार्यमा सहयोग गर्नुहुने चुमनुव्री गाउँपालिकाको कार्यालय र अन्तर्गतका स्वास्थ्यकर्मीहरू, जिल्ला प्रशासन कार्यालय गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाली सेना लागायत सम्बद्ध सम्पूर्णमा मन्त्रालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।