19/07/2016
बाबुनानीहरुलाई #खोकी किन लाग्छ? खोकी बास्तवमा के हो? रोग वा आवस्यक प्रक्रिया? के यसको उपचार गरिहाल्नु पर्छ? की गर्नै पर्दैन? के खोकीको उपचार गर्दा समेत हानी हुन्छ? आउनोस यसबारे चर्चा गरौँ।
खोकी के हो?
खोकी हाम्रो शरीरले फोक्सो र सास नालिहरु लाई सफा राख्नको लागि उपयोग गर्ने प्रतिरक्षात्मक क्रिया हो। अधिकांश अवस्थामा यो मानिसको इक्षा नभईकन नै स्वचालित रुपमा एक्कासि आउने गर्छ। यस्तो क्रिया लाई चिकित्सकीय भाषा मा ‘रिफ्लेक्स’ भनिन्छ। शरीरलाई आवश्यक हावा बाहेकका चिज जस्तै पानी, खाना, खकार इत्यादि कुनै तरिकाले सास नली वा फोक्सोमा पुगेमा वा जम्मा भएमा शरीरले खोकी रिफ्लेक्स सुरु गर्छ र त्यसले उक्त चिज लाई श्वास प्रस्वास प्रणाली बाट बाहिर निकालिदिन्छ।
खोकीको बिज्ञान (फिजियोलोजी):
एक पटक खोक्नको लागि खोकीको सुरुवात देखि अन्त्य हुँदा सम्मका केहि सेकेन्ड भित्र शरीरले संचालन गर्ने प्रणालीहरु जटिल तर प्रक्रियागत रुपमा त्यति नै ब्यबस्थित हुन्छन। सर्वप्रथम सास नली वा फोक्सोमा तरल वा ठोस पदार्थ वा बिषालु ग्यास पुगेको वा जम्मा भएको कुरा त्यहाँका स्नायुहरुको टुप्पोमा रहेका सुक्ष्म ज्ञानेन्द्रीय (मेकानिकल र केमिकल रिसेप्टर) हरु ले थाहा पाउछन र यसको सूचना मस्तिस्कको तल्लो भागमा अवस्थित मेडुला भन्ने स्थानमा रहेको ‘खोकी नियन्त्रण केन्द्र’ मा पठाउँछन्। त्यस्तो सूचना प्राप्त भएपछी मेडुला ले खोकी ल्याउनको लागि चरणबद्द रुपमा श्वास प्रश्वास क्रिया संग सम्बन्धित विभिन्न माम्शापेसी हरुलाई स्नायु मार्फत आदेश जारी गर्दछ। यो प्रक्रिया मानिसको आफ्नो इक्षा को नियन्त्रणमा हुदैन, मेडुलाले स्वतस्फुर्त रुपमा यसको संचालन गर्दछ। फल स्वरूप श्वास्प्रस्वास प्रणालीमा निम्न तिन चरणमा घटनाक्रम बिकसित हुन्छ:
१. लामो सास भित्र तानिने
२. सास बाहिर फाल्ने माम्शापेसीहरु सक्रिय हुने तर स्वर यन्त्र बन्द रहने। जसले गर्दा सास नली र फोक्सोमा हावा को प्रेसर अत्याधिक बृद्धी हुन पुग्छ तर हावा बाहिर निस्कन पाएको हुदैन।
३. स्वर यन्त्र एक्कासि खोलिने। यसले गर्दा उच्च प्रेसरमा रहेको हावा एक्कासि सास नली बाट बाहिर निस्कन्छ, यो अत्यन्तै ठुलो गतिमा बाहिर निस्कन्छ जसको बेगले त्यहाँ रहेका तरल वा ठोस पदार्थहरुलाई उडाएर वा धकलेर बाहिर निकाल्छ।
यस बाट प्रष्ट हुन्छ कि खोकी आँफैमा कुनै रोग होइन यो प्रथमतः सुरक्षा को उपाय हो र श्वास्प्रस्वास प्रणालीमा कुनै खराब चिज जम्मा भएको संकेत हो अर्थात लक्षण हो। तर खोकीले कहिले काहीं बाबुनानीहरुलाई निकै अत्त्याउँछ र कुनै कुनै बेला सानो समस्याको प्रतिक्रिया को रुपमा ठुलो र दुख दिने लामो खालको खोकी पनि लाग्न सक्छ। यस्तो खोकी भने लक्षण मात्र नभई आँफैमा समस्याको रुपमा बिकसित हुन्छ।
बिमारी हुँदा खोकी किन लाग्छ?
माथि छलफल गरिएझैं रुघा-खोकी, टन्सिल वा घांटी वा स्वर यन्त्र को संक्रमण वा निमोनिया इत्त्यादी लागेमा श्वासप्रश्वास प्रणालीमा धेरै परिमाणमा सिंगान जस्तो चिप्लो लेग्रा जम्मा हुन्छ, यसलाई ‘म्युकस’ भनिन्छ। म्युकस संगसंगै रोगको किटाणु संग शरीरका सुरक्षा प्रणालीका कोश (WBC) हरुको द्वन्दको कारण जम्मा हुन गएका मृत कोष र किटाणुहरु समेत मिसिएको हुन्छ , कहिले कहिँ यो पीप जस्तै पनि हुन सक्छ। यी यस्ता चीज फोक्सो र सास नलीमा जम्मा हुना साथ ‘खोकी रिफ्लेक्स’ सक्रिय भएर खोकी लगाउँछ र खकारको रुपमा सासनलीबाट बाहिर निकालिदिन्छ। अधिकांश बाबुनानीहरुमा हुने खोकी यहि कारणबाट हुने गर्छ। रुघा खोकी जटिल बनेर पिनास भएमा समेत यसरीनै खोकी लाग्छ।
नाक वा घांटीको एलर्जी खोकीको अर्को प्रमुख कारण हो। बाल्यकालको दम भएका बाबुनानिहरुमा समेत खोकी प्रमुख लक्षणको रुपमा देखा पर्छ। यी दुवै अवस्थाहरुको छुट्टै उपचार आवस्यक हुन्छ।
क्षयरोग लागेका बाबुनानिहरुमा पनि अन्य संक्रमणहरुमा जस्तै खकार जम्मा भएको कारणले खोकी लाग्छ। तर यस्तो खोकी दुइ हप्ता भन्दा बढी महिनौं सम्म रहन्छ, सामान्य एन्टिबायोटिक को प्रयोग पछी पनि नियन्त्रण हुदैन, बच्चाको तौल घट्दै जान सक्छ। क्षयरोगको उपचार सुरु गरेपछि मात्र यस्तो खोकी नियन्त्रण हुन्छ।
रातीमा मात्र खोकी लाग्ने बाबुनानीहरुमा पेटबाट अन्न नली हुँदै पेटको पानि मुखसम्म फर्केर आउने (रिफ्लक्स) हुन सक्छ। रिफ्लक्स भएर मुख सम्म आएको पानी मध्ये केहि सर्को पर्न सक्छ भने मुख्य रुपमा यस्तो पानीमा हुने अम्ल (हाइड्रोक्लोरिक एसिड) को कारण घांटी कै स्नायु हरुले ‘खोकी रिफ्लेक्स’ सुरुवात गरिदिन्छन।
बाबुनानीहरुमा खोकी का अन्य थुप्रै कारणहरु हुन सक्छन तर प्रमुख चाहिं माथि उल्लेख गरिएकाहरु नै हुन्।
खोकी को उपचार कसरि गर्ने?
खोकीको उपचार भन्दा पहिले खोकी को कारण को उपचार गर्नु पर्छ। ‘खोकी को औषधी’ भनेर खोकी रोक्ने खालको औषधीको प्रयोग गर्नु हानीकारक हुन सक्छ। सामान्य रुघा खोकी भएमा लाक्षणिक सहजता हुने औषधीको प्रयोग गर्न सकिन्छ। टन्सिल वा घांटीको संक्रमण वा निमोनिया भएमा एन्टिबायोटिक आवस्यक पर्छ। क्षयरोग भएमा त्यसको उपचार गर्नु पर्छ। एलर्जी भएमा त्यसको फरक उपचार हुन्छ। दम भएमा घरेलु सतर्कता संगै लामो समयसम्म सास नलीहरु खुकुलो पार्ने औषधीहरु आवस्यक पर्न सक्छ। पेटबाट रिफ्लक्स भएमा त्यसको फरक उपचार हुन्छ। अन्य कारणले खोकी लागेको भएमा उपचार कारण पिच्छे फरक फरक हुन्छ।
यसमा महत्वपुर्ण बिषय भनेको के हो भने खोकीको कारणको उपचार नगरी खोकी निको हुदैन र त्यस्तो कारण निदान गरी औषधि चलाएपछि मात्र खोकी सहज पार्ने खालका औषधीहरु प्रयोग गर्न सकिन्छ। अधिकांश यस्ता औषधीहरुले खकारमा पानीको मात्र बढाएर खकार पातलो पारी खकार बाहिर निकाल्न सजिलो पार्छन भने अन्य औसधीले घांटीमा सितलो पार्ने काम गर्छन। तर यी मध्ये धेरै जसो औषधीहरु दुइ बर्ष भन्दा कम उमेरका बाबुनानिहरुमा कति सुरक्षित छन् वा के कस्तो साइड इफेक्ट गर्छन भनेर यथेष्ट अनुसन्धान भएका छैनन।
अधिकांश बाबुनानीहरु खोकी लागिरहंदा बान्ता समेत गर्छन. खाकारको लेग्रा अल्झेर यस्तो बान्ता हुने गर्छ। बान्ता संगै यस अघि बच्चाले निलेको खकार समेत पेटबाट बाहिर निस्कन्छ। खोकीको कारण यसरी लागेको बान्ताको छुट्टै उपचार गरिरहनु आवस्यक हुँदैन।
कुनै कुनै अवस्थामा खकार ननिकाल्ने किसिमको खोकी लाग्दछ। यसले बाबुनानीहरुलाई दुख मात्र दिने गर्छ। यस्तो अवस्थामा खोकी कम गर्ने औषधिहरु प्रयोग गर्नु पर्ने हुन सक्छ तर यो कुराको निर्णय बाल बिशेषग्य चिकित्सक संग परामर्श गरेर मात्र गर्नु पर्दछ।
अन्तमा:
खोकीको कारण पत्ता लगाई त्यसको उपचार सुरु गरेपछि मात्र खोकी सहज गर्ने उपचार गर्न सकिन्छ। जथाभाबी ‘खोकीको औषधी’ भनेर खोकी रोक्ने औषधि प्रयोग गर्नु हानिकारक हुन सक्छ।
(मन परे पेज लाइक गरौँ र जनहितका लागि सेयर गरौँ | सुझाव वा जिज्ञासा भएमा कमेन्ट गरौँ। facebook.com/BabuNani.info)