28/09/2015
पहिला त अन्त्येष्टि संस्कार, श्राद्ध र तर्पण को विषयमा विचार गरौं
। मरेको व्यक्ति यो संसारबाट गए पश्चात् “यथा कर्मम् तथा श्रुतम्”
आफनो ज्ञान र कर्म अनुसारको मोक्षको स्थिति वा कुनै योनिमा
जन्म लिन्छ । उसको मृत रहेको शरीरलाई संस्कारित
गर्नु पर्दछ र त्यसलाई अन्त्येष्टि कर्म वा अन्तिम संस्कार
भनिन्छ । यजुर्वेद ४०/१५ “भस्मान्तम शरीरम” मा
प्रष्ट भनिएको छ कि जलाउनु र अस्थि संकलन भन्दा मृतकका लागि
अरु कुरा केही पनि गर्ने विधानको निर्देशन वेदमा दिइएको
छैन भनेर महर्षि दयानन्द सरस्वतीले संस्कारविधि
पुस्तकमा लेख्नु भएको छ ।
“मृतक श्राद्ध” शब्द वेदको कुनै मन्त्रमा कहीँ पनि
मृतक पितर को अथवा मरेकाको लागि श्राद्ध वा विधान छैन ।
मृतक श्राद्ध अवैदिक, कपोल कल्पित र तर्क रहित हो । यो
मध्यकालमा वाममार्गीहरुको कल्पना मात्र हो । टपरे
बाहुनहरुद्वारा सीधा साधा हिन्दुलाई मुर्ख बनाएर ठग्ने
गरी अनिवार्य बनाउनका लागि गरुड पुराणको रचनाका साथै
रामायण, महाभारत आदि ग्रन्थमा यो विचारसँग सम्बन्धित श्लोक
बनाएर मिसाइएको हो । मृतक श्राद्धको समर्थनमा पौराणिकहरुले
केही श्लोक बनाएर मनुस्मृतिमा मिलाएर अवैदिक विचार
थोप्ने प्रयत्न गरेका छन् जस्तो — “ निमन्त्रिताहिन पितर
उपतिष्ठन्ति तान् द्विजान् । वायु वच्चनुगच्छनित तथा
सीनानुपासते । ” मनुस्मृति ३/१८९ अर्थात– ‘ निमंत्रित
पितर ब्राहणहरुका साथ साथ वायुभूत भएर आउँदछन र
ब्राहणहरुका साथमा बसेर भोजन गर्दछन ।’ तर यो श्लोक मिसाउने
पाखण्डिले मनुस्मृति २/५६– “ नोच्छिष्टं कस्याचिद्दद्यान्नाघाच्चैव
तथान्तरा” अर्थात—‘न कसैलाई जुठो दिनु न कसैसँग एउटै थालमा
जुठो खानु ।’ आयुर्वेदमा पनि जुठो खान निषेध गरेको छ । अब
बाहुनले खाएर पितरलाई पुग्ने भए त त्यो जुठो हो जुन कुरा
शास्त्रले निषेध गरेको छ । नैव स्त्री न पुमानेष न
चैवायं नपुंसकः । यद्यच्छरीरमादत्ते तेन तेन स
रक्ष्यते ।। ( श्वेताश्वतरोपनिषद ५/१० ) अर्थात –
जीवात्मा न स्त्री हो न पुरुष न नपुंसक नै
हो । जस्तो जस्तो शरीर धारण गर्दछ त्यसलाई
त्यस्तै भनिन्छ । जीवले एउटा शरीर छोडेर
तुरुन्तै अर्को शरीरमा प्रवेश गर्दछ । “तद्यथा
तृणजलायुका तृणस्यान्तं गत्वा ऽन्यमाक्रममाक्रम्या
त्मानमुपसंहरत्येवमेवायमात्मेदं शरीरं निहत्याऽविद्यां
गमयित्वाऽन्यमाक्रममाक्रम्यात्मानमुपसंहरति
।” (बृहदारण्यकोपनिषद ४/४/३) यसमा जीवले
शरीर छोडेर अर्को गर्भमा जीवलाई पुग्न
‘कति समय लाग्दछ ?’ को उत्तरमा जसरी
कीट जुका पानीमा एउटा त्यान्द्रोबाट अर्कोमा
जाँदा पहिलोलाई त्यसबेला मात्र छोडछ जब नयाँ त्यान्द्रोलाई
राम्ररी समात्दछ । शरीर त्यागे पछि
जीव नयाँ शरीरमा तुरुन्तै प्रवेश गर्दछ ।
वासंसिजीर्णानि यथा विहाय नवानिगृहणानि नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति
नवानि देही।। (भगवत्गीता २ / २२ )
अर्थात जसरी मानिसले पुरानो लुगा उतारेर नया लुगा
लगाउँदछ , त्यसरी नै जीवात्माले पुरानो
शरीर छोडेर नया शरीर धारण गर्दछ ।
शरीर त्यागेपछि जीवको पुनर्जन्म हुन्छ
भनेर शास्त्रहरुले भनिरहेको छ । तब त्यो जीव
पितृलोकमा जान्छ र त्यहाँ भोकै प्यासै रहन्छ भनेर मान्नु झुटो कुरा
हो । यो कुरा पनि कसैलाई थाहा हुदैन कि मरेपछि
जीवात्माले कहाँ कुन योनिमा जन्म लिन्छ ? नया
शरीर जीवले मनुष्य कै पाउँदछ भन्ने
छैन, अनि मनुष्यको भोजन वस्त्रको आवश्यकता मनुष्य योनिलाई
मात्र हो । जीवका विछोडिएका परिवारले श्राद्धमा दिएको
मालताल भोजन प्रत्यक्षमा कहीँ पनि पुग्दैन ।
गरुडपुराण अनुसार मृतकलाई भनेर भोजन र अरुकुरा पण्डितलाई
दिएपछि मृतकको आत्माको तृप्तिको लागि पितृलोक पुग्दछ रे । तर
वैदिक शास्त्र अनुसार जीवले तुरुन्तै अर्को
शरीरमा प्रवेश गर्दछ भनेर निर्देशनलाई नमानेर झुटो
मृतक श्राद्धको आशा पितृले गर्दछ भनेर मान्नु ठुलै भ्रम पाल्नु
मात्र हो ।
पितर शब्दको अर्थ के हो ?
*************************
पितर शब्द ‘पा रक्षणे’ धातु बाट सिद्ध हुन्छ । “पान्ति
रक्षन्तीति पितरः” जसले पालन र रक्षण गर्न समर्थ
हुन्छ उसलाई पितर भनिन्छ । वैदिक धर्मका प्राचीन
आर्य साहित्यमा ‘पितृ’ शब्द अनेक अर्थमा प्रयोग हन्छ ।
जस्तो– पालकजन (निरुक्त ४–२१) सैनिकजन ( ऋगवेद ६/७५–
९) ज्ञानीजन (ऋगवेद १०/१२–१२)
मानी वधी पितरः मीता मातरम् ।
( यजुर्वेद १६–१५ ) अर्थात हाम्रा माता पितालाई नमार । यहाँ
“पितर” शब्द जीवित माता पितालाई भनिएको छ । मरेका
लाई नमार भनिन्छ र ? “उपहुताः पितरः सोम्यासो बर्हिष्येषु निघिषु
प्रियेषु । तऽआ गमन्तु तऽइह श्रुवन्त्वधि ब्रुवन्तु
तेऽवन्त्वस्मान् ।।” यजुर्वेद १९/५७ भावार्थ— प्रस्तुत मन्त्रमा
पितरहरुका सम्बन्धमा निम्न कुराहरु भनिएको छ —“पितरहरु
आसनमा बस्नका लागि र ढुकुटीको उपभोग गर्नका लागि
निमन्त्रित गरिन्छन् । हामीद्वारा आमन्त्रित ति पितर—
हाम्रोमा आउन्, यहाँ आएर तिनले हाम्रा कुरा सुनुन्,
हामीलाई अधिकार पूर्वक उपदेश दिउन् र हाम्रो रक्षा
गरुन् ।” आउनु, सुन्नु, उपदेश दिनु र रक्षा गर्नु
जीवितमा नै घटन सक्दछ मरेकाबाट यी कुरा
सम्भव हुदैन । त्यसैले सिद्ध हुन्छ कि पितर जीवित
व्यक्तिलाई भनिन्छ । शतमिन्तु शरदो अन्निदेवा यात्रनश्चक्रा
जरसंतनूनाम् । पुत्रासोयत्र पितरो भवन्ति मानो मध्यारोरिषतायुर्गन्तोः ।।
(ऋग्वेद १/९–९) अर्थ– माता पिताले भन्दछन–जबसम्म
हामी वृद्ध हुदा हाम्रो पुत्र “पितर” हुदैन हे परमात्मा
हाम्रो आयुको नाश नगर्नुहोस । यहाँ पुत्र “पितर” बन्नुको तात्पर्य
छोरा पनि बाउ बनोस् भन्ने स्पष्ट छ ।
वाल्मीकी रामायणको अयोध्याकाण्डको सर्ग
१६ को श्लोक २२ – “ स रामः पितरं कृत्वा कैकेयीं च
प्रदक्षिणम् । ” अर्थ– रामले जीवित पिता दशरथ र
माता कैकेयीलाई प्रदक्षिणा गरे । यसमा
जीउदो पितालाई ‘पितर’ भनिएको छ ।
वाल्मीकी रामायण किष्किन्धाकाण्ड सर्ग
१३ को श्लोक ११मा श्रीरामले बालीलाई
दिएको प्रत्युत्तर– “ज्यष्ठो भ्राता पिता चैव यश्च विद्यां प्रयच्छति
। त्रयस्ते पितरो ज्ञेया धर्मे च पथि वर्तिनः ।।” अर्थ – धर्म
मार्गमा हिडने जेठो दाइ, पिता र विद्यादाता गुरु यी तिन
‘पितर’ हुन । शरीरकृत प्राणदाता यस्य चान्नानिभुज्ञ्ते
। क्रमेणैते त्रयोऽप्युक्त पितरो धर्म शासने ।।१५।। (महाभारत
आदिपर्व अध्याय ७२ श्लोक १५) अर्थ– जो गर्भाधानद्वारा
शरीर निर्माण गर्दछ , जसले अभयदान दिएर
प्राणिहरुको रक्षा गर्दछ , जसको अन्न भोजन गरिन्छ ,
धर्मशास्त्रहरुमा यिन जीवहरुलाई ‘पितर’ भनिन्छ ।
गीता १÷३४ अर्जुनले कृष्णलाई भन्दछन —
“आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः । मातुलाः श्वशुराः पौत्राः श्यालाः
सम्बन्धिनस्तथा ।।” अर्थ— यहाँ पनि पितर जिउँदा ‘ गुरुजन, ठुलो
बा, काका , छोराहरु र त्यसै प्रकार हजुरबा , मामा , ससुरा,
नाती,साला तथा अरु नातागोताका मानिसहरु छन् । अनि
गीता १/३५मा अर्जुनले भन्दछन्—‘ म पितरलाई मार्न
चाहन्न ।’ गीताको अनुसार पनि लडाईको मैदानमा युद्धको
लागि तयार रहेका मान्यजनलाई नै ‘पितर’ भनेर सम्बोधन गरिएको छ ।
“ जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति । अन्नदाता भयत्राता
पंचैते पितर : स्मृता : ।।” चाणक्य नीति ४/१९ अर्थ
– पिता, आचार्य ( यज्ञोपवीत गराउने) , गुरु, अन्नदाता
र भयबाट रक्षा गर्नेवाला यी पाँचलाई ‘ पितर ’ भन्दछन
। वैदिक साहित्यमा जीवित माता,पिता,वयोवृद्ध
ज्ञानी पुरुष, अतिथि, गुरुजन आदिलाई पितर भनिन्छ ।
अन्न,जल, फल, दवाई आदिले सेवा जीवित पितरहरुको
मात्र गर्न सम्भव छ ।
मृतकको जब पितर संज्ञा हुदै हुदैन तथा पितरलोक नामको कुनै
भिन्न ठाँउ हुदैन तथा पौराणिकहरुद्वारा मिथ्या कल्पित कुनै विशेष ‘
पितर योनि’ हुदैन । ‘जीव’ ले वर्तमान
शरीरलाई छोडेपछि कर्मअनुसार अर्को शरीर
प्राप्त गर्दछ ।
श्राद्ध के हो ?
**************
‘श्रत ’ को अर्थ सत्य हो । जुन क्रियाले सत्यलाई धारण गरिन्छ ,
त्यसकै नाम ‘श्रद्धा’ हो र श्रद्धाले जुन कर्म गरिन्छ , त्यसलाई
नै ‘श्राद्ध’ भनिन्छ । जीवित पितरको सत्कारपुर्वक
शालीन व्यवहार गर्नु नै साचो श्राद्ध हो ।
जीवित माता पिता आदिलाई छोडेर मृत पितरलाई भोजन ,
कपडा कसरी दिन सकिन्छ ? जसले शरिर धारण गरेको
छ उसलाई खुवाउदाँ वा वस्त्रले तृप्त पार्न सकिन्छ , मृत
व्यक्तिलाई यस्ता कुराको आवश्यकता पर्दैन । जुन प्रकारले
जीवित मान्यजनलाई ‘तृप्त’ वा प्रसन्न गरिन्छ , त्यो नै
‘तर्पण’ हो ।
पौराणिक पोगा पन्डाहरुले भन्दछ कि रामायणमा पनि श्राद्धको उल्लेख
छ त्यसैले पहिला देखिको चलन गर्नु पर्दछ । अब हेरौ
वाल्मीकी रामायणमा बालकाण्ड सर्ग ३१
श्राद्ध कसरी गरिएको छ –‘ राजा जनकसँग भेट गरेर
राजा दशरथले विवाहको कुरा गरि सकेपछि बिदा माग्दै भन्दछन ’–
स्वस्ति प्राप्नुहि भद्रं ते गमिष्यामि स्वमालयम् । श्राद्धकर्माणि
सर्वाणि विधास्यामीति चाब्रवीत् ।। १५ अर्थ
– तपाईको कल्याण होस् । अब म आफ्नो डेरामा गएर श्रद्धाले
गरिने अतिथि सत्कार आदि कुराहरु विधिपुर्वक सम्पन्न गर्नेछु । “स
गत्वा निलयं राजा श्राद्ध कृत्वा विधानतः । १७ अर्थ – डेरामा गएर
राजा दशरथले विधिपुर्वक एवं श्रद्धा सहित अतिथि सत्कार आदि गरे
। यहाँ ‘श्राद्धकर्माणि’ को अर्थ कतैपनि मृतक श्राद्ध भनिएको छैन
। विवाहको अवसरमा त मृतक श्राद्ध गर्ने कुराको कुनै तारताम्य पनि
मिल्दैन । यहाँ जिउँदालाई नै श्रद्धाले सत्कार गर्ने कुरा सिकाएको छ
।
मृतक श्राद्ध गर्नु पर्दछ कि पर्दैन ?
*****************************
नायं परस्य सुकृतं दुष्कृतं चापि सेवते । करोति यादृशं कर्म तादृशं
प्रतिपद्यते ।। ( महाभारत , शान्तिपर्व ) अर्थात–
जीवले अर्काले गरेको पाप या पुण्यको सेवन गर्दैन ।
जस्तो कर्म स्वयं गर्दछ त्यस्तै नै फल भोग्दछ ।
मनुष्यको सम्बन्ध अरु मनुष्यहरुसंग त्यति बेलासम्म मात्र
रहन्छ जबसम्म ऊ जीवित छ । मरेपछि उसको
जीवितहरुसँग कुने सम्बन्ध रहदैन । मरि सकेकोका
लागि गरिएको दान पुण्य आदिको फल पनि मरेकोलाई मिल्दैन । कुनैपनि
शुभ अशुभ कर्मको फल त्यसको कत्र्तालाई मात्र मिल्दछ अरुलाई
मिल्दैन ।
ऋषियज्ञं देवयज्ञं भूतयज्ञं च सर्वदा । नृयज्ञं पितृयज्ञं च
यथाशक्ति न हापयेतं ।। ( मनुस्मृति ४–२१ ) अर्थात –
ऋषियज्ञ, देवयज्ञ, बलिवैश्वदेवज्ञ , अतिथियज्ञ र पितृयज्ञ
यी पाँच यज्ञ हरेकदिन यथाशक्ति गर्नु पर्दछ ।
यिनलाई कहिले पनि नछोडनु , अनिवार्य कर्तव्य हुन् । यज्ञ
भनेको परोपकारमय कामहरुको नाम हो । सन्ध्योपासना लाई
ऋषियज्ञ वा ब्रम्हयज्ञ भनिन्छ । अग्निहोत्र नै देवयज्ञ हो
। दीनदःुखी गरीब, पालतु
पशुआदिलाई खाना वा दाना दिनु बलिवैश्वदेवज्ञ भनिन्छ ।
अतिथियज्ञ भनेको विद्वान, साधु, सज्जन परोपकारी
गुणी समाजसेवीहरुलाई अन्न वस्त्रले सेवा
सत्कार गर्नु अतिथियज्ञ हो । पितृयज्ञको अर्थ आमा बा, हजुरबा
हजुरआमा लगायत मान्यजनलाई हरेक दिन सेवा सत्कार गर्नु हो ।
मान्यजनआदिको वर्षमा १ दिन मात्र सेवा गरिदैन र मरणोपरान्त
सेवाको कुनै अर्थ पनि छैन ।
तराईमा एउटा उखान छ – जीवित पितासँग दंगम दंगा ।
मरे पिता पुगाउछन गंगा । जीवित पिता दिनु छैन
रोटी ।
मरे पितालाई खीर र बोटी
संस्कारविधि पुस्तकमा महर्षि दयानन्द लेख्नुहुन्छ – आजभोलि
देखिएको ‘ मृतक श्राद्ध ’ को कार्य वेद र ऋषिहरुको विरुद्ध छ ।
मुतकको सम्झनामा यज्ञ गर्नु अति उत्तम हो । यज्ञमा मुतकका
असल गुणहरुलाई मनन गर्ने र उत्तम बाटोमा हिँडन प्रेरणा लिनु
असल कुराहरु हुन् । मृतकका सम्बन्धी सम्पन्न छन
भने सम्झनामा वेदोक्त धर्मको प्रचार,अनाथ दुखीलाई
सहयोगमा धन प्रदान गर्नु पुण्यको काम हो ।
श्राद्धको नाममा पंडितहरुलाई भोजन गराएर मृतलाई मिल्दछ भन्नु
भ्रान्ति पाल्नु हो । यदि एकजनाले खाएको भोजन मृत भएकाले
पाउँदछन् भने के परदेश गएकालाई घरमा बोलाएर अर्को व्यक्तिलाई
ख्वाउदा परदेशीको पेट भरिन्छ ? यो बुद्धि बिरुद्ध हो
जुन कुरा सम्भव छैन अनि किन भ्रान्तिमा परेर आफ्नो समय,
शक्ति र धन नष्ट गरि रहनु भएको छ । यो लेख पढेर परम्परालाई
बिथोल्न खोज्यो भन्नेहरु थुप्रैलाई रिस पनि उठ्ला तर अलिक बुद्धिले
विचार गर्नुहोस् र सत्यलाई अंगाल्नुहोस । वेदको सत्यमार्गमा हिडने
प्रयास गरौ र ऋषिहरुले भने जसरी श्राद्ध र तर्पण
जीवितहरुको मानौँ र श्रद्धापुर्वक सेवा गरौँ l
राज सुनार सत्य ज्ञान’