28/11/2015
‘जेनरिक नाममा औषधि सिफारिस गरौं’
===================================================
विशेषज्ञहरूले हालको औषधि अभावलाई दृष्टिगत गरी जेनरिक नाममा औषधि सिफारिस गर्न चिकित्सकलाई सुझाव दिएका छन् ।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं वरिष्ठ फार्मासिस्ट बाबुराम हुमागाईंले सबैले खास ब्रान्डकै औषधि खोज्न थाल्दा अभाव देखिए पनि ती औषधिको त्यति साह्रो अभाव नभएकाले चिकित्सकले औषधिको जेनेरिक नाम सिफारिस गरे उपलब्धता अझ सुनिश्चित हुने बताए ।
हुमागाईंका अनुसार हाल बजारमा कतिपय ब्रान्डको औषधि नभए पनि त्यसको जेनरिक औषधि भने सहज उपलब्ध छ । औषधिमा भएका मूल तत्त्वका आधारमा राखिएको नाम जेनरिक हो । यो एउटै गुणस्तरको भए पनि ब्रान्डेड औषधिको तुलनामा धेरै सस्तोसमेत हुन्छ ।
‘हाल मुलुकमा जेनरिकको सट्टा ब्रान्ड नेमबाट औषधि प्रस्तावित हुने गरेकाले समेत अभाव बढी देखिएको हो,’ औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने, ‘यो औषधि अभाव नभएर खास ब्रान्डको औषधि अभाव हो ।’
‘सम्भव भएसम्म हाल ब्रान्डको सट्टा औषधिको जेनरिक नाम नै लेख्न हामी सबै चिकित्सकलाई अनुरोध गर्छौं,’ नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ भन्छन्, ‘हाल अभावको स्थितिमा औषधिको ब्रान्ड र शक्तिप्रति संवेदनशील हुने स्थिति छैन ।’
५ सय मिलिग्रामको औषधि पाइएन भने २ सय ५० मिलिग्रामका दुई चक्की खाए पनि केही फरक नपर्ने जनाउँदै श्रेष्ठले भने, ‘जेनरिक नाममा औषधि सिफारिस गर्दा यो झन् सस्तो हुने भएर उपभोक्तालाई फाइदा पनि हुन्छ ।’
जेनरिक नाम र ब्रान्ड नाममा रहेको अन्तरबारे औंल्याउँदै वरिष्ठ फर्मासिस्ट हुमागाईं भन्छन्, ‘तपाईं गहुँको पीठो खानुस् भन्नु ‘जेनरिक’ हो भने तपाईं कुनै खास उद्योगबाट पिसिएको गहुँको पीठो खानुस् भन्नु ब्रान्ड नेम हो ।’
जब कुनै कम्पनी नयाँ औषधि बजारमा ल्याइन्छ, तब त्यो औषधिको अनुसन्धान, विकास, बजार प्रवद्र्धनमा धेरै खर्च गर्छ । कम्पनीले त्यो औषधिलाई पेटेन्ट गराउँछ । यसले कम्पनीलाई उक्त औषधि बेचेर कमाउने अधिकार दिन्छ । पेटेन्टको समय समाप्त भएपछि त्यो फर्मुलाका आधारमा अन्य कम्पनीले समेत त्यो औषधि बनाउन सक्छ । अर्थात पेटेन्ट मुक्त भएको औषधि जेनरिक हो ।
चिकित्सकले जेनरिक नाममा औषधि सिफारिस गरेपछि विक्रेताहरूले बिरामीलाई सस्तो र विश्वसनीय औषधि दिनुपर्ने हुमागाईं बताउँछन् ।
जेनरिक नाममा सिफारिस गरिएको पुर्जा लिएर पसलमा जाँदा उपभोक्तालाई औषधि खोज्न धेरै पसलमा चहार्नुपर्ने स्थितिसमेत नरहने औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ औंल्याउँछन् । मुलुकमा एसीडीटीको ब्रान्डेड औषधिको एक पत्ता १६० रुपैयाँमा पाइन्छ भने त्यही औषधि जेनरिक नाममा ४० रुपैयाँसम्म उपलब्ध हुने गर्छ ।
औषधि व्यवस्था विभाग स्रोतका अनुसार मुलुकमा धेरैजसो औषधि मूल्य नियन्त्रणबाट मुक्त हुने कारणले निर्माता आफ्नो ब्रान्डेड औषधिमा अधिकतम खुद्रा मूल्य धेरै बढी लेख्ने गरेका छन् । विक्रेताले त्यही मूल्य उपभोक्तासँग लिन्छन् । उपभोक्तालाई थाहा हुँदैन कि धेरैजसो औषधिको उत्पादन लागत अत्यन्त न्यून हुन्छ । चिकित्सकले कुनै खास ब्रान्डको औषधि सिफारिस गरेपछि उपभोक्तासँग त्योबाहेक अन्य लिनुको विकल्पसमेत रहँदैन ।
‘हाम्रो मानसिकता के छ भने एउटै प्रकारको औषधिमा यदि ब्रान्ड नेमको औषधि महँगो छ भने हामी ठान्छौं त्यसमा अवश्य केही खास विशेषता होला,’ विभाग स्रोतले भन्यो, ‘औषधि निर्माण गर्ने कम्पनी यही भ्रमको फाइदा उठाउँछन् ।’
यस्ता औषधिहरूमा प्रस्ताव गर्ने चिकित्सक, बेच्ने विक्रेतालाई कमिसनसँगै व्यापक मात्रामा मार्केटिङसमेत गरिने गरिएको स्रोतको दाबी छ । औषधि व्यवसायी संघका अनुसार मुलुकमा बर्सेनि २२ अर्बको औषधि र ८ अर्बको शल्यक्रियाको सामान भित्रिने गरेको छ ।
जेनरिक नाममा औषधि सिफारिस गरिए अभाव नहुने
सस्तो हुन्छ.