28/03/2026
ठुलाचौर वन भवनमा निःशुल्क स्वास्थ्य शिविर
तुलसीपुर उपमहानगरपालिका–४ अन्तर्गत ठुलाचौर वन उपभोक्ता सामुदायिक वनको वन भवनमा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । लायन्स क्लब अफ इसान तुलसीपुरको आयोजना तथा राप्ती लाइफ केयर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।
शिविरमा विभिन्न रोगहरूको जाँच, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने उद्देश्यले आयोजना गरिएको शिविरबाट करिब १०० जना स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन् ।
लायन्स क्लब अफ इसान तुलसीपुरका प्रथम उपाध्यक्ष दिपक केसीको अध्यक्षतामा शिविरको उद्घाटन कार्यक्रम भएको हो ।
शिविरमा क्लबका अध्यक्ष सुनिल खनालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा राप्ती लाइफ केयर अस्पतालका निर्देशक जीवन भण्डारी, क्लबका सह–सचिव एकराज देवकोटा, रमेश रेग्मी (पूर्व अध्यक्ष), वासुदेव पोख्रेल (स्थानीय समाजसेवी) तथा तारा राना (स्थानीय) लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा राप्ती लाइफ केयर अस्पतालका निर्देशक जीवन भण्डारीले अस्पतालले विगत लामो समयदेखि गाउँ–बस्तीमै पुगेर जनताको स्वास्थ्य सेवा सहज बनाउने काम गर्दै आएको बताउनुभयो। उहाँका अनुसार यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई ठूलो राहत प्रदान गर्ने गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्लबका सचिव सोमराज बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको शिविरमा अस्पतालका बिजनेस डेभलपमेन्ट म्यानेजर पंकज चौधरी, स्वास्थ्यकर्मीहरू पूर्णिमा पाठक, दर्शना ओली र वर्षा गिरीले स्वास्थ्य जाँच गर्नुभएको हो ।