06/07/2025
सापहीमा सम्पन्न भयो बृहत् नि:शुल्क स्वास्थ्य शिविर, ४९१ जनाले लिए सेवा
जनकपुरधाम, असार २१, २०८२ –
लायन्स क्लब अफ जनकपुरधाम आस्था, लायन्स क्लब अफ जनकपुरधाम मिथिलाञ्चल तथा लक्ष्मिनिया गाउँपालिका वडा नं. ४ को संयुक्त आयोजनामा सापहीस्थित बी.पी. माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार बृहत् बहुविद्यात्मक नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा ४९१ जनाको स्वास्थ्य परीक्षण, ५१ जनाको प्रयोगशाला परीक्षण (लैब टेस्ट), १५० जनाको अल्ट्रासाउन्ड (USG) तथा आवश्यक अनुसार सबै सेवाग्राहीलाई नि:शुल्क औषधि वितरण गरिएको आयोजकले जानकारी दिएका छन्।
शिविरमा ११ विभिन्न शाखाका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए।
स्त्री तथा प्रसूति रोग विभागमा डा. राम नरेश पण्डित, डा. रामजी यादव, डा. विजय कपाड, डा. सतेंद्र राय र डा. रहिना बानुले सेवा प्रदान गरे।
छाला रोगतर्फ डा. राम ज्ञान यादव र डा. नितेश अधिकारीले परामर्श दिए।
मेडिसिन विभागमा डा. प्रभाकर दास र डा. शशि कुमार यादवले मधुमेह, रक्तचाप लगायतका रोगहरूको जाँच गरे।
शल्य चिकित्सा सेवा डा. चित्रसेन यादव र डा. आदित्य यादवले प्रदान गरे।
बाल रोगतर्फ डा. प्रमोद कुमार यादव र डा. हेमन्त शर्माले बालबालिकाको परीक्षण गरे।
हाडजोर्नी विशेषज्ञ डा. अमित रञ्जन मिश्र र डा. सुधीर यादवले जोर्नी तथा हाडसम्बन्धी सेवा दिए।
आँखा रोगतर्फ डा. अमित यादव, मानसिक रोगमा डा. दिव्यांशु झा, ENT मा डा. अंकिता साह, रेडियोलोजीमा डा. अरुण गोइत र डा. सिद्दिक रेजा तथा दन्त रोगतर्फ डा. उमेश यादव र डा. निमु यादवले सेवा पुर्याए।
शिविरको सफलताका लागि लायन्स क्लबका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, विद्यालय परिवार र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय भूमिका रहेको थियो।
आयोजक संस्थाहरूले भविष्यमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धता जनाएका छन्।