14/09/2023
कुशे औंसी सनातन हिन्दू परंपरामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन मनाइने पर्व हो । सम्पूर्ण धार्मिक एवं पितृकार्यहरुमा प्रयोग गरिने कुशलाई वैज्ञानीक भाषामा (Eragrostis Cynosuroides) भनिन्छ l कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने कुशको जराबाट विभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । प्राचीनकालमा कुशको प्रयोग गुरुकुलदेखि राजदरवारसम्म पनि हुने गर्दथ्यो l वैदिक साहित्यमा यसको अनेकौं ठाउँमा उल्लेख पाइन्छ l
अथर्ववेदमा यसलाई क्रोधशामक र अशुभनिवारक बताइएको छ भने कौटिल्यको अनुसार यसबाट एक विशेष प्रकारको तेलपनि निकालिन्थ्यो l भावप्रकाशानुसार कुश त्रिदोषघ्न (कफ, वात, पित्त) र शैत्यगुण (शीत) विशिष्ट हो भने यसको जराले मूत्रकृच्छ्र, अश्मरी, तृष्णा, वस्ती र प्रदररोगसमेतमा पनि महत्वपूर्ण भूमिका निभाउंछ l
धार्मिकशास्त्रानुसार कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्मकार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिन्छ l
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि l करौ सदर्भौ कुर्वीत तथा संध्याभिवादने l l
अर्थात् नुहाँउदा, जप गर्दा, दानगर्दा, पुजापाठ, पितृकार्यमा समेत प्रयोग हुने बहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वका साथ हेर्दछन् ।
कुशको उत्पत्त्ति कसरी भयो भन्ने संदर्भमा पौराणिक आख्यानहरु पनि पाइन्छन् l जब भगवान् श्रीहरिले वराह अवतार धारण गर्नुभयो तब हिरण्यकशिपुको सहोदर हिरण्याक्षको वध गरिसकेपछि पृथ्वीलाई जलबाट बाहिर निकाली उनको निर्धारित स्थानमा राख्नुभयो, त्यसपछि वराहले पनि आफ्नो प्रवृत्ति अनुसार शारीरमा लागेको पानी झार्दा संग-संगै शरीरको रौँ पनि पृथ्वीमा झरेको थियो l सोही रौँबाट कुशको उत्पत्ति भएको हो l स्वयं भगवान् वराहको रौँबाट उत्पन्न भएको कारणैले गर्दा कुशलाई अत्यन्त पवित्र मानिएको हो l
यस्तै, स्वस्थानीको कथाप्रसङ्गमा पनि वृन्दाले विष्णु भगवानलाई श्राप दिएकी थिइन् कि घाँस नुपरोस्, त्यही घाँस नै कुशरूपमा आएको भन्ने कुरा त्यहीं स्पष्ट छ । जसरी पनि भगवानसँग सम्बन्धित भएर धार्मिक कृत्य सम्पादन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
कुशको महिमालाई यथर्ववेद, श्रीमद्भगवद्गीता, गरुडपुराण, तथा विष्णुपुराणमा समेत वर्णन गरिएको छ । बिना कुशले गरिएको कर्म निष्फल मानिएको छ-
पूजाकाले सर्वदैव कुशहस्तो भवेच्छुचि: l कुशेन रहिता पूजा विफला कथिता मया l l
कुश संग्रह गर्ने विधि
धार्मिक मान्यतानुसार कुशमा साक्षात् ईश्वरको वास हुन्छ l संसारका सृष्टि, स्थिति र लयकर्ता ब्रह्मा, विष्णु र महेशको निवास कुशमा हुने गर्दछ l जरासहित कुश उखेल्ने शास्त्रीय विधान रहेको छ l किनभने कुशको अग्रभागमा रुद्र, मध्यमा केशव तथा मूलमा परमपिता ब्रह्माको निवास हुन्छ l त्यसैले कुश उखेल्दा निम्नस्थ मंत्र उच्चारण गर्दै प्रार्थना गर्नुपर्छ-
कुशाग्रे वसते रुद्र: कुशमध्ये तु केशव: । कुशमूले वसेद्ब्रह्मा कुशान् मे देहि मेदिनी ।।
विरञ्चिना सहोत्पन्नं परमेष्ठिन्निसर्गज: । हरतु सर्व पापानि दर्भ स्वस्तिकरो भव ।।
यस प्रकार प्रार्थना गरिसकेपछि कुश भएको स्थानमा गएर पूर्वोत्तर (इशानकोण) फर्की निम्नमंत्रको उच्चारण गर्दै कुश उखेल्नुपर्छ-
पूर्वं मंत्रं समुच्चार्य तत: पूर्वोत्तरा मुख: l हुँफट्कारेण मंत्रेण सकृच्छित्वा समुद्धरेत् l l
यसरी प्रार्थना गरेपछि "ॐ हुँ फट् स्वाहा" मन्त्र उच्चारण गरी कुशको फेदमा समाएर उखेल्नुपर्छ । यसरी विधिपूर्वक यस दिन उखेलेको कुश व्रत, दान, पुण्यकर्म, पूजा, श्राद्ध आदि कर्ममा वर्षदिनसम्म प्रयोग गर्न सकिन्छ । शास्त्रीय भाषामा ‘अयातयामा’ अर्थात् वर्षदिन सम्मका लागि यस दिन उखेलेको कुश बासी हुँदैन भनिएको छ । परदेश आदिको प्रवासमा या कर्मकालको अवस्थामा कुश नपाइएमा कास, जौ, दूबो, उशीर, कुन्द, गहुँ, धान, मूँज तथा बाबियोलाई पनि कुशसमान व्यवहारमा ल्याउन सकिन्छ भनी धर्मशास्त्रमा बताइएको छ । यस्तै यिनीहरूको अभावमा सुन, चाँदी र तामाको पनि प्रयोग गर्न सकिने शास्त्रवचन रहेको छ l यथा-
कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः । गोधूमा ब्रीहयो मौञ्जा दशदर्भाः सबल्वजाः ।।
कुशाः काशाः शरा दूर्वा यवगोधूमवल्वजाः । सुवर्णं राजतं ताम्रं दशदर्भाः प्रकीर्तिताः ।। इति