03/01/2026
धौलागिरी प्रादेशिक अस्पतालमा ऐतिहासिक सफलता: स्तरोन्नत NICU मा जटिल नवजातको प्राणरक्षा,
बागलुङ ।
दुर्गम पहाडी क्षेत्रका नागरिकका लागि आशाको केन्द्र बनेको धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ (SNCU) लाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ (NICU) मा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यसरी स्तरोन्नत भएको NICU मा गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरी जीवन रक्षा गरिएको छ।
यो सफल उपचार अस्पतालका प्रसूति तथा स्त्रीरोग विभागको एक जटिल प्रसव केसको नतिजा हो। विभागमा डा. विजय, डा. बिमल र डा. अंजुको टोलीले गम्भीर प्रसव र जटिल स्त्रीरोग सम्बन्धी ओपरेसनहरू सफलतापूर्वक गर्दै आएका छन्। यसै क्रममा, म्याग्दी जिल्लाको दुर्गम ग्रामीण क्षेत्रबाट आएकी एक गर्भवती महिलामा २०८२ पौष ४ गते कर्ड प्रोल्याप्स र प्लेसेन्टा प्रिभिया जस्ता अत्यन्तै जोखिमपूर्ण अवस्था देखिएको थियो। महिलाको जीवन बचाउन आपतकालीन लोअर सेग्मेन्ट सिजेरियन सेक्सन (LSCS) गर्ने निर्णय स्त्रीरोग विशेषज्ञ डा. विजयको नेतृत्वमा भयो।
डा. विजय, डा. अमित (एनेस्थेसियोलोजिस्ट), डा. सन्दीप (एनेस्थेसियोलोजिस्ट),प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा. किरण तिवारी, मेडिकल अफिसर डा. सन्दिप के.सी. र अन्य स्वास्थ्यकर्मीको संयुक्त टोलीले सफल शल्यक्रिया गर्यो। दिउँसो ३:५० बजे जन्मिएको शिशु प्रारम्भमा कुनै पनि जीवनचिन्ह नदेखिएको (Flat Baby) अवस्थामा थियो। टोलीले निरन्तर र प्रभावकारी पुनर्जीवन (रिससिटेसन) , CPR दिएपछि मात्र ७ मिनेट पछि मात्र शिशुको हृदयको धड्कन फर्क्यो। तत्कालै इन्टुबेसन गरी डा. किरण तिवारी र डा. यशोदाद्वारा शिशुलाई स्तरोन्नत NICU मा सारियो।
NICU मा शिशुलाई भेन्टिलेटरमा राखेर एन्टिबायोटिक, आयोनोट्रोप्स लगायतका जीवनरक्षक औषधिहरू निःशुल्क उपलब्ध गराइयो। डा. किरण, डा. यशोदा, डा. कमल, डा. सन्दिप र साथै NICU नर्सिङ टोली मिलनबरुवालको नेतृत्वको कृतिका, रश्मी, पूजा, मोनिका, दीपा, रक्षा, आस्मा लगायतको समन्वयात्मक प्रयासले उपचारलाई अझ प्रभावकारी बनाएको थियो। त्यसैगरी, नर्सिङ अफिसर निमा हिताङ नेतृत्वको ICU नर्सिङ टोलीले नवजात शिशुको सघन हेरचाह, भेन्टिलेटर व्यवस्थापन तथा निरन्तर निगरानीमा उल्लेखनीय योगदान पुर्याएको थियो।
अनुभवी नर्सिङ्ग तथा ICU टोली ले करिब १० दिनसम्म अथक सेवा र निगरानी गरी शिशुलाई भेन्टिलेटरबाट हटाउन सफल भए। हाल शिशु मेकानिकल CPAP बाट अक्सिजन सपोर्टमा र अहिले Room Airमा सारिएको छ र उसको हालको अवस्था सन्तोषजनक रहेको छ।
यस सफलताको जानकारी दिँदै डा. सन्दिप के.सी. ले भने, "यो केवल एउटा सफल उपचार मात्र होइन, हाम्रो दूरगामी लक्ष्यको सुरुवात हो। हाम्रो लक्ष्य यहाँ पूर्णरूपमा सुसज्जित NICU सञ्चालन गरी जटिल प्रसव पछिका गम्भीर नवजात शिशुहरूको सम्पूर्ण उपचार गर्नु हो। यसबाट भविष्यमा जटिल नवजात शिशुहरूलाई बाहिरी अस्पतालमा पठाउनु (रेफरल) रोक्न सकिनेछ र दुर्गम क्षेत्रका सबै आमाबाबुले यहीं उच्चस्तरीय सेवा पाउनेछन्।"यस सफलताले दुर्गम क्षेत्रमा पनि उच्चस्तरीय नवजात सेवा सम्भव छ भन्ने प्रमाणित गरेको छ। अस्पतालका स्त्रीरोग तथा नवजात विभागको सहकार्य र बहु-विषयक टोलीको सामूहिक प्रयासले नै यो जीवनरक्षा सम्भव भएको प्रमुख डा. किरण तिवारीले बताए। दूरदराजका आमाबाबुका लागि यो सेवा ढुक्क ढुक्क आशाको किरण बनेको छ। यसैबीच, स्त्रीरोग विभागले डा. विजय, डा. बिमल र डा. अंजुको टोली अगाडि बढी गम्भीर प्रसव र स्त्रीरोगीका केसहरू सफलतापूर्वक उपचार गर्दै आएको छ जसले सम्पूर्ण क्षेत्रका महिलाहरूमा विश्वास जगाएको छ।
यसबिच अस्पताल प्रशासन प्रमुख विपिन पुनले यस सफलतालाई दुईतर्फी रणनीतिक जित बताउँदै भने, "यसले हामीलाई दुई महत्वपूर्ण लक्ष्यमा पुग्न मद्दत गरेको छ: एक त, जटिल प्रसवलाई नै स्थानीयस्तरमै उपचार गरेर मातृ स्वास्थ्य रेफरल रोक्ने, र दुई, स्तरोन्नत NICU को माध्यमबाट जटिल नवजात शिशुहरूको बाहिरी रेफरल पनि सम्पूर्ण रूपमा रोक्ने। यो एउटा सम्पूर्ण मातृ-शिशु स्वास्थ्य सेवा चक्र हो जसले गर्दा अब दुर्गम क्षेत्रका गर्भवती र नवजातहरू सुरक्षित छन्।"
*note: picture taken with consent
-Dr Sandip KC