15/02/2026
म झुटो आश्वासन बेचेर धनी र प्रसिद्ध हुन सक्थेँ,
अनेकौं पुरस्कारले सजिन सक्थेँ,
यदि मैले उनीहरूको जुत्ता चाट्न सिकेको भए।
म झुकेको मेरुदण्डसँगै
मुस्कान बेच्न सक्थेँ,
सत्य साटेर ताली किन्न सक्थेँ,
आत्मा बेचेर सम्मानको मञ्च चढ्न सक्थेँ।
मेरो नाम झिलिमिली बत्तीहरूमा चम्किन्थ्यो,
सुनौलो फ्रेममा मेरो तस्वीर टाँसिन्थ्यो,
खल्ती भरिन्थ्यो,
तर मन रित्तो हुन्थ्यो।
म पनि सत्य लुकाएर भन्न सक्थेँ,
मधुमेह र उच्च रक्तचाप जीवनभरि बोक्नै पर्ने
दीर्घ रोग हुन् भनेर।
म पनि भीडसँगै आफ्नो बोली दोहोर्याउन सक्थेँ
“औषधि खाऊ, चुप बस” भन्ने मन्त्र।
तर मैले त्यसो भनिनँ।
मैले फरक कुरा भनेँ।
मैले मानिसहरूलाई प्रश्न गर्न सिकाएँ,
आशा छ भनेर सम्झाएँ,
जीवनशैली बदल्न सकिन्छ भनेर बताएँ।
मैले उनीहरूलाई सत्य सुनाएँ।
मैले आफूलाई
कुनै औषधि कम्पनीलाई बेचिन दिइनँ,
कुनै ब्रान्डको पोस्टर बन्न मानिनँ,
चिनी बेच्ने कम्पनीहरूको स्वर बनिनँ,
जङ्क फुड (पत्रु खाना )को चम्किलो विज्ञापन हुन अस्वीकार गरेँ,
स्वास्थ्यलाई हानी पुर्याउने कुनै बिउको तेल बेच्ने कम्पनीको प्रचारक पनि बनिनँ।
मैले औषधि कम्पनीहरूको कमिसनका लागि कहिल्यै काम गरिनँ,
कुनै “कट” को लोभमा आफ्नो पेशालाई झुकाइनँ,
कुनै मेडिकल प्रतिनिधि (MR) वा औषधि कम्पनीबाट
कहिल्यै कुनै फण्ड लिइनँ।
मैले आफ्नो आत्मा बजारमा राखिनँ,
मेरो सिद्धान्तको मूल्य तोकिन दिइनँ।
मेरो सेतो कोट
लोभ र औषधि कम्पनीको पैसाको दागले लत्पतिएको छैन।
त्यो अझै सफा छ,
किनकि मैले ज्ञानलाई व्यापार बनाइनँ।
म सत्यको पक्षमा उभिएँ,
भीडले हाँसो उडाए पनि कत्ति डगमगाइन ,
आफ्नो लडाइँ आफैं लडेँ,
एक्लै भए पनि झुकिनँ।
मिडियाले मलाई एक्लै उभ्याएर
कठघरामा राख्यो,
चरित्रमा प्रहार गर्यो,
व्यक्तिगत आक्रमण गर्यो,
शब्दका ढुंगाले हान्यो।
मेरो छवि धुमिल्याउन खोजियो,
मेरो आवाज दबाउन खोजियो,
तर मेरो सत्य चुप लागेन,
बरु अडिग रह्यो ।
मैले सजिलो बाटो होइन,
सही बाटो रोजेँ।
जहाँ इमान्दारीताको फल ढिलो फल्छ,
जहाँ आत्मसम्मानको कुनै प्रायोजक हुँदैन।
मेरो जिब्रो बन्धक भएन,
मेरो हात दागले लत्पतिन पाएन,
मेरो घुँडा नझुकेर नै तटस्थ भई रह्यो।
त्यसैले म पदकले ढाकिएको छैन,
तर म सुत्दा झुटको अभ्यास गर्नु पर्दैन।
सायद,
त्यही नै सबैभन्दा दुर्लभ पुरस्कार हो।
आत्मसम्मानले सजिएको छु ,
शिर ठाडो पारेर हिँड्न सकेको छु ।