20/12/2025
यो जाडोको मौसममा यी कुराहरू ध्यान दिनुहोस्
१) चिसोमा बिहानै बाहिर मर्निङ वाक गर्न ननिस्किनु होला। बिहान ८ बजेपछि र साँझ ४ बजेअगाडि मात्र निस्किनुहोस्। चिसो हावाले गर्दा रुघा–खोकी लाग्न सक्छ र पछि फोक्सोको सङ्क्रमण हुन सक्छ।
२) धेरै जना बिरामीहरू “जाडो छ र पानी पिएपछि धेरै पिसाब लाग्छ” भनेर पानी एकदमै कम पिउनु हुन्छ। यसले गर्दा धेरैमा पिसाबको सङ्क्रमण देखिएको छ। शरीरलाई पानी चाहिन्छ, त्यसैले नियमित पानी पिउनुहोस्।
३) “न्यानो हुन्छ” भनेर धेरैले चुरोट र रक्सी खाने तथा यसको मात्रा बढाउने गरेका छन्। जॅाड, रक्सी, चुरोट, सुर्ती कसैले पनि खानु हुँदैन। यसले केही समयका लागि मात्र न्यानो त दिन सक्छ, तर शरीरमा अन्य रोग निम्त्याउँछ।
४) राति सुत्ने बेला हिटर वा न्यानो बनाउने विद्युत् उपकरणहरू निरन्तर बालेको अवस्थामा नछोड्नुहोस्। सुत्ने बेला बन्द गर्नुहोस् अथवा झ्याल–ढोका खुला राखेर मात्र सुत्नुहोस्। न्यानो लुगा र सिरक ओढेर बस्नुहोस्।
५) तातो पानीले नुहाउँदा झ्याल वा भेन्टिलेसन खुला राखेर मात्र नुहाउनुहोस्। तातो पानीको बाफले नुहाउने कोठा भरिन्छ र सास फेर्न गाह्रो भएर बेहोस हुने सम्भावना हुन्छ।